ठुलोपर्दा डटकम, काठमाण्डौ। चर्चित हाँस्य कलाकारहरु सिताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा स्थापित धुर्मुस-सुन्तली फाउण्डेशनले बनाएको ५० घरसहितको मुसहर बस्ती तोकिएकै मितिमा हस्तान्तरण हुने भएको छ । २०७४ बैशाख १ गते बिहान ८ बजे मुसहर बस्ती हस्तान्तरण हुने फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले ठुलोपर्दा डटकमलाई बताए ।
महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित एकीकृत नमूना ‘मुसहर बस्ती’मा दैनिक ३ सयभन्दा बढीले श्रम गरेर बस्ती ठडिएको छ । फाउन्डेसनले एकीकृत नमुना बस्तीमा ५० आवासीय घर, सामुदायिक भवन र मन्दिर निर्माण गरेको छ ।
पुस २५ गते बरिष्ठ हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितीमा शिलान्यास भएको बस्ती निर्माण कार्य लगभग सकिएको बताईएको छ । यो बस्तीको कुल परियोजना लागत ४ करोड ७८ लाख रुपैयाँ रहेको छ ।