ठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली चलचित्र ‘घामपानी’ पनि नयाँ बर्ष २०७४ मा रिलीज हुँदैछ । अन्य दुई चलचित्र ‘लभ लभ लभ’ र ‘राधे’सँगै बैशाख १ गते यो चलचित्र रिलीज हुनेछ ।
‘घामपानी’का प्रमूख कलाकार दयाहाङ् राईको जन्मदिन बैशाख १ मा नै रहेकोले चलचित्रको रिलीज मिति त्यहि दिनलाई तोकिएको हो । चलचित्रमा अभिनेत्री केकी अधिकारीको पनि प्रमूख अभिनय छ ।
दया र केकीको साथमा सिल्सा जिरेल, बुद्दि तामाङ्, अरुणा कार्की लगायतको अभिनय छ । यो चलचित्रले दुई फरक सँस्कृति भएका समुदायबीचका युवा-युवतीको प्रेम र त्यसबाट उब्जने संघर्षहरुलाई प्रस्तुत गर्नेछ ।
यसैबीच ‘घामपानी’का निर्देशक तथा चलचित्र समिक्षक दीपेन्द्र लामालाई ठुलोपर्दा डटकमले ‘यो चलचित्र हेर्नैपर्ने पाँच कारणहरु’ सोधेको छ:
निर्देशक लामाका अनुसार ‘घामपानी’ हेर्नैपर्ने पाँच कारणहरु यस्ता छन् ?
१. नेपाली राजनीति जातीय मुद्दाकै वरिपरि घुमिरहेको बेला अन्तरजातीय प्रेमकथाको विशेष महत्व रहन्छ जस्तो लाग्छ । जातभातको कुराले समाजमा कस्तो तरंग पैदा गर्नसक्छ भन्ने कुरा यो फिल्ममा खुलाएको छु ।
२. अरुका फिल्मको कडा टिप्पणी गर्ने समीक्षकले आफ्नो फिल्म चाहिँ कस्तो बनाएका छन् त ? त्यो पनि चासोको विषय हुनसक्छ ।
३. दयाहाङ राई र केकी अधिकारीको युगल अभिनय यसअघि अरु फिल्ममा आएको छैन । उनीहरुको केमिस्ट्रीमा रमाउने अवसर घामपानीले दिनेछ ।
४. सिन्धुली जिल्लाको रमणीय गाउँ भद्रकालीका दृश्यहरु यसमा समेटिएको छ । हाम्रो गाउँठाउँका मौलिक दृश्य फिल्मको पर्दा विरलै हेर्न पाइन्छ ।
५.वैशाख १ गते कलाकार दयाहाङको जन्मदिन हो । त्यसैले घामपानी फिल्म हेर्नु भनेको दयाहाङलाई शुभकामना दिनु पनि हो ।