ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म प्रतिको युवापुस्ताको बढ्दो क्रेजको पछिल्लो उदाहरण बनेको छ फिल्म ‘ग्याङ्गस्टार ब्लूज’को अडिसन । फिल्म निर्माण टिमले मुख्य कलाकार फाईनल भइसक्दा सहायक पात्रको लागी आह्वान गरेको अडिसनमा ४ सय बढि सहभागी भएका छन् ।
सोमबार राजधानीमा आयोजित अडिसनमा सहभागी हुन झापा देखि धनगढीसम्मबाट युवा युवतीहरु आएका थिए । निर्देशक हेमराज बिसी सहितको टोलीले सहभागीहरुको अभिनय कला हेरेको थियो । अडिसनमा उपस्थित मध्येबाट उत्कृष्ट बनेर फिल्मको लागी छनोट हुनेको नाम छिट्टै नै सार्वजनिक गरिने निर्माता सरोज न्यौपानेले बताएका छन् ।
‘नेपाली फिल्म उद्योगमा कलाकारको खडेरी छ भन्नेहरुलाई हाम्रो अडिसन गतिलो जवाफ बनेको छ, निर्देशक हेमराज बिसीले भने, मैले नेपाली फिल्म बुझेदेखि यो क्षेत्रमा लागेदेखि आज आएर पहिलो पटक फिल्म उद्योगमा आउन खोज्ने पछिल्लो पुस्ताको यति ठुलो क्रेज भेटेँ, यो आफैमा एउटा इतिहास हो ।’
फागुनको पहिलो साताबाट फ्लोरमा जान लागेको उक्त फिल्मको लागी सम्पुर्ण सहायक पात्रको लागी अडिसन आयोजना गरिएको थियो । फिल्ममा यसअघि नै लिड अभिनेतामा आशिरमान देशराज, संयम पुरी फाईनल भईसकेका छन् भने लिड अभिनेत्रीमा आना शर्मासँगै रोजिशा शाहि ठकुरी फाइनल छन् । फिल्मका कार्यकारी निर्माता मनिष पण्डित हुन् ।