ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘प्रेम गीत’ स्टार प्रदीप खड्काको अभिनय रहने कस्मोपोलिटन लभस्टोरीमा बन्दै गरेको नेपाली चलचित्र ‘प्रेम गीत २’ को छायांकन शुरु भएको छ ।
सोमबार बिहान पशुपतिनाथ मन्दिरमा मुहर्त गरी फिल्म छायांकन शुरु भएको हो । अबको दुई महिना नेपालसहित विदेशी रमणीय स्थलहरुमा ‘प्रेम गीत २’ छायांकन हुनेछ । यो फिल्मलाई रामशरण पाठकले लेखन-निर्देशन गर्दैछन् । पाठकले प्रेमगीत ब्रान्डलाई क्वालिटी बनाउने चुनौती आफुसँग रहेको बताएका छन् ।
आँशुसेन ब्यानरमा बन्ने यो चलचित्रका निर्माता सन्तोष सेन हुन् । उनले चलचित्रको मेकिङलाई क्वालिटी तुल्याउन केन्द्रित हुने बताए । यो चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाईँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य लगायतका कलाकारको अभिनय छ ।
काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बहुल म्यानमारको रंगुन लगायतका स्थानमा यो चलचित्र छायांकन हुनेछ ।
रिनशा राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायांकन रहने ‘प्रेम गीत २’ आगामी भदौमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।