ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्राय: चलचित्रमा नारीप्रधान भूमिकामा देखिँदै आएकी नायिका रेखा थापा अब भने खलपात्रमा आउने भएकी छन् । मंगलबार राजधानीमा घोषित चलचित्र ‘डायरी’मा उनि भिलियन बन्ने खुलासा गरिएको छ ।
यो चलचित्रलाई नायिका छुल्ठिम गुरुङ्ले निर्माण गर्न लागेकी हुन् । ‘नोभेम्वर रेन’, ‘क्लासिक’ जस्ता सफल चलचित्र लेखेका छेतेन गुरुङ्ले लेखेको ‘डायरी’मा छुल्ठिम नायिका रहनेछिन् । चलचित्रमा छुल्ठिम र रेखाको द्वन्द्व हुने अनुमान गर्न सकिन्छ ।
भदौ २६ गतेबाट छायांकनमा जाने यो चलचित्रमा रेखा र छुल्ठिमसँगै सन्नी सिंह मुख्य भूमिकामा देखिनेछन् । साथमा राजु लामा, कुशल विष्ट, दीनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तमाङ चलचित्रमा देखिनेछन् ।
केहि समय अगाडी लेखक छेतेन गुरुङ्ले नै निर्देशन गर्ने भनिएको भएपनि यो चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्ने भएका छन् । प्रेम र बदलाको कथामा बन्ने यो चलचित्रमा मित्रता, खुशी, अमर मायाको चित्रण गरिने बताईएको छ ।
शिवराम श्रेष्ठको छायांकन रहने चलचित्रमा स्वप्निल शर्मा, इमान विक्रम शाह र मनास राजको संगीत रहनेछ । ‘डायरी’मा अनिल योञ्जन र छुल्ठिम गुरुङको लगानी रहनेछ । चलचित्रलाई प्रविण श्रेष्ठले सम्पादन गर्नेछन् ।
घोषणा कार्यक्रममा रेखा र छुल्ठिमलाई यसअघि देखिएका पात्र भन्दा फरक देखाईने बताईएको छ । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ ‘जोया’को भूमिकामा देखिदैछिन् भने रेखा ‘रानी’को भूमिकामा देखिनेछन् ।