ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र वृन्दावन’ले ‘तीज विशेष कार्यक्रम’को आयोजना गरेको छ । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चलचित्रका निर्माता, निर्देशकका साथमा कलाकारहरु सहभागी भएका थिए ।
कार्यक्रममा चलचित्रको ट्रेलर, गीत पनि प्रस्तुत गरिएको थियो । चलचित्रको गीतमा उपस्थित दर्शकले नृत्य समेत गरेका थिए । चलचित्रका सह-निर्माता कमल जीसीले ‘वृन्दावन’ उत्कृष्ट चलचित्र बनेको भन्दै सबै दर्शकलाई मनपर्ने बताए । निर्माता रुद्र खनालले नारीको कथामा चलचित्र बनेकाले तीजमा कोशेली स्वरुप प्रदर्शन गर्न लागिएको बताए ।
कार्यक्रममा चलचित्रका मुख्य कलाकार शिल्पा पोख्रेल र किशोर खतिवडा उपस्थित भएनन् । शिल्पाले आउँछु भनेर पनि कार्यक्रममा सहभागीता नजनाएपछि निर्देशक राजबहादुर साने केही आक्रोशित देखिएका छन् । उनले आफूहरु नयाँ निर्माता र मेकर भएकाले नायिका र नायकले वेवास्ता गरेको गुनासो पोखेका छन् ।
बाँदरको समेत अभिनय रहेको यो चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । यो चलचित्र भदौ १७ गतेबाट देशव्यापी रिलिज हुनेछ ।