ठुलोपर्दा डटकम, काठमाण्डौ।
उमा फिल्मस्को ब्यानरले नाम तय नभएको नयाँ चलचित्र घोषणा गरेको छ । शुक्रवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा शबिर श्रेष्ठले निर्देशन गर्ने चलचित्रको घोषणा भएको हो ।
उक्त चलचित्रमा नायक भूवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने छन् । यही चलचित्रबाट निर्मात्री तथा कलाकार उमा वेवीकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा भित्रिदैछिन् । सिवानी ‘मिस भारत वर्ल्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् ।
सिवानीको जन्मदिनको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तु मन परेकाले आफूले काम गर्न लागेको जानकारी दिए । यस्तै, चलचित्रका निर्देशक सविर श्रेष्ठले ‘इशारा’पछि उमासाग चलचित्र बनाउन लागेको भन्दै कथावस्तु सिक्किम र नेपाल जोड्ने बिषयमा तयार हुने बताए ।
कार्यक्रममा बोल्दै सिवानीले विभिन्न सौन्दर्य प्रतियोगीता जितेपछि आफूलाई अभिनयले आकर्षित गरेको बताइन् । उनले आमा र हजुरआमाको प्रेरणाले यो क्षेत्रमा आउन लागेको जानकारी दिइन् ।