ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो विवादका बीच अन्तत: नेपाली चलचित्र ‘चपली हाइट २’ भाद्र ३ गते नै रिलीज हुने भएको छ । २ गते बिहिवार जनैपूर्णिमा पर्वको सार्वजनिक विदा परेकोले निर्माता अर्जुन कुमार एक दिन अगावै चलचित्र प्रदर्शनमा ल्याउने दाउसहित प्रचार-प्रसारका सामग्री तयार पारिसकेका थिए ।
तर, चलचित्र निर्माता संघ र चलचित्र संघबीचको एक सम्झौता बाधक बन्यो । उक्त सम्झौतामा नेपाली चलचित्रको हकमा महत्वपूर्ण पर्व बाहेक अरु समयमा शुक्रबार नै चलचित्र रिलीज गरिनुपर्ने बुँदा प्रमूख रहेको छ । चलचित्र सेन्सरको लागि सिफारिस लिन चलचित्र विकास वोर्ड पुग्दा ‘चपली हाइट २’को विपक्षमा उजुरी परिसकेकोले सिफारिस बन्न सकेन ।
निर्माता अर्जुनका अनुसार वोर्डमा चलचित्र निर्माता संघ र ‘चपली हाइट २’को अघिल्लो साता रिलीज हुने चलचित्रका निर्माताले चलचित्र बिहिवार रिलीज गर्न नदिन उजुरी दिएका थिए । निर्माता अर्जुन कुमारले उक्त नियमप्रति आक्रोश पोखेका छन् ।
बिहिवार राजधानीमा पत्रकार भेटघाट गर्दै उनले आफुले यसलाई आन्दोलनको स्वरुप दिने बताए । उनले चलचित्र आफ्नो सम्पती भएकोले जुनसुकै समयमा बेच्न पाउनुपर्ने बताए । बिदाको दिन चलचित्र रिलीज नहुँदा आफुलाई लाखौँ घाटा लागेको उनको दाबी थियो । यद्यपी उनले यसपटकलाई पुरानै सम्झौता मान्ने र चलचित्र रिलीज पश्चात निर्माताको हकहितमा आवाज उठाउने बताए ।
‘बिदाले मात्रै चलचित्र चल्ने हो र ?’ भन्ने पत्रकारको प्रश्नमा निर्देशक दिपेन्द्र के खनालले ‘चपली हाइट’ सिरिजको पहिलो चलचित्र स्मरण गर्दै त्यो समयमा एसएलसी चलिरहँदा पनि चलचित्र हिट भएको बताए । भेटघाट कार्यक्रममा नायक आयुष्मान देशराज र नायिका परमिता राज्यलक्ष्मी राणाको पनि उपस्थिती थियो ।
भिडियो हेर्नुहोस्: