ठुलोपर्दा डटकम, काठमाण्डौ।
लघु चलचित्र ‘ओ माई म्यान’को राजधानीमा प्रिमियर गरिएको छ । पुनम गौतम र शक्तिबल्लभ घोरासैनीको निर्माण, सञ्चारकर्मी सुशील पौडेलको लेखन र गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको यो चलचित्र हेर्न सञ्चारकर्मी, चलचित्रकर्मी तथा शुभचिन्तकको घुइँचो लागेको थियो ।
चलचित्र सत्य घटनामा आधारित रहेको निर्देशक लामिछानेले बताए । धेरै उमेरान्तरमा बिवाह भएपछि श्रीमतीले युवकसँग खोज्ने प्रेम र यौनसुखले निम्त्याउने घटनालाई चलचित्रमा उतारिएको छ । २२ मिनेट लामो यो चलचित्र कालभैरवको किम्वदन्तीमा आधारित छ । एक समय थियो जतिबेला कालभैरवको मुर्तीलाई अर्को अदालत भनिन्थ्यो । कालभैरब अगाडी कसैले पनि झुट बोल्न नहुने किंवदन्ती छ ।
मानिसले झुट कुरालाई पनि सत्य साबित गर्दै कालभैरबलाई समेत छक्काएको कथा चलचित्रमा छ । यो चलचित्रमा लक्ष्मी गिरी, रमा थपलिया, स्वस्तिका राजभण्डारी, शम्भु थापा, बाल कलाकार कुशाग्र भट्टराई, गणेश ढकाल लगायतका कलाकारको अभिनय छ । पपुलर मल्टी मिडिया र पुन इन्टरटेन्मेन्टले संयुक्त रुपमा ‘ओ माइ म्यान’ बनाएका हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यो चलचित्रमा हरि सिलवालको सम्पादन रहेको छ ।