ठुलोपर्दा डटकम, काठमाण्डौ।
सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘राहदानी’को एल्बम बिमोचन गरिएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राहदानी’को सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रका निर्माता लक्ष्मीप्रसाद ढकाल, निर्देशक डब्बु क्षेत्री, गायक प्रमोद खरेल, गायिका निशा देशार लगायतले एल्बम बिमोचन गरेका थिए ।
चलचित्रका निर्देशक क्षेत्रीले दिएको जानकारी अनुसार चलचित्रको ‘गुन्यूचोली’ बोलको गीतमा दुर्गा खरेलको स्वर, डब्बु क्षेत्रीको शब्द छ । यस्तै, ‘साउनको ठूलो झरी’ बोलको गीतमा डाक्टर गोविन्द कुसुमको शब्द, बसन्त सापकोटाको संगीत, निशा देशारको स्वर छ । यस्तै, ‘जिन्दगीको गोरेटोमा’ बोलको गीतमा चण्डी श्रेष्ठको शब्द, जुगल डंगोलको संगीत, प्रमोद खरेलको स्वर छ भने ‘मेरो देश’ बोलको गीतमा शैलेन्द्र शरदको शब्द, गैरे सुरेशको संगीत र सान्निध्य खनालको स्वर छ ।
मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षेत्रीले बताए । वैदेशिक रोजगारीको विषयलाई चलचित्रले मार्मिक ढंगबाट प्रस्तुत गरेको छ । यो चलचित्रमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाल लगायतको अभिनय छ भने रीमा विश्वकर्मा आइटम डान्समा देखा परेकी छन् ।