ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिनेश डिसीद्वारा निर्देशित ‘फूलै फूलको मौसम तिमीलाई’ ले फेरी आफ्नो प्रचार प्रसारमा नयाँ स्वाद थपेको छ । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ले गर्ने व्यापारिक नाफाबाट धादिङमा पुल निर्माण गर्न आर्थिक सहयोग गर्ने घोषणा गरेपछि चर्चामा रहेको यो चलचित्र यूनिटले भ्यालेन्टाइन डेका लागि नयाँ उपहार योजना सुरु गरेको छ ।
उक्त उपहार जित्नका लागि निर्माण यूनिटले अगाडी सारेका सर्तहरु भने पुरा गर्नुपर्ने छ । सर्तमा भ्यालेन्टाइन डेका लागि आफ्नो साथी वा प्रेम-प्रेमीकालाई फूल दिएको एक तस्विर खिच्नु पर्ने छ र सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने छ र त्यस फोटोमा सर्वाधिक लाइक र कमेन्ट पाएको आधारमा ५ टपटेन विजेता छुटाइ चलचित्रको प्रिमियरका लागि ४ टिकटसँगै स्मार्टफोन प्रदान गरिनेछ ।
प्रेमकथामा चलचित्र आधारित भएका कारण दर्शकहरुको हौसला बढाउनका लागि यो उपहार योजना अगाडी सारेको निर्देशक एवं निर्माता दिनेश डिसीले जानकारी दिए । फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ दिनेश डिसी प्रोडक्शनको व्यानरमा तयार भएको हो । नव नायक आमेश भण्डारी र नायिका नीता ढंगानाको मुख्य भुमिका रहेको यो चलचित्रलाई यति बेला बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।
अमिर अलीले निर्माण गरेको यो चलचित्रले भुवन केसीको ‘ड्रिम्स’ चलचित्रसँग प्रतिस्पर्धा गर्ने छ । चलचित्रमा सुरेश अधिकारीको संगीत, राजेशपायल राईको स्वर, रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ ।