अमेरिकामा रहेर कानुन व्यावसायमा संलग्न विनोद रोक्का नेपाली गीतकार तथा साहित्यकार हुन् । उनले गीतको साथमा थुप्रै फुटकर कविता तथा कथाहरु समेत लेखन गरेका छन् ।
उनलाई दिपक लिम्बु र अञ्जु पन्तको स्वरमा रहेको मेरि प्रिय बोलको गीतले गीतकारको रुपमा अझै राम्रोसँग चिनायो । प्रसिद्द गायक बच्चु कैलाशको गाउँ छेउछाउ हुर्केका उनि बच्चुको प्रभावले गीत-संगीतमा सानैदेखि झुकाव दिए । राजविराजमा हुँदा कविता लेख्ने गरेका रोका राजधानी आएपछि भने पेशा र अध्ययनमा बढि सक्रिय भए । पछि अमेरिका गएपछि उनले गीत-संगीत र साहित्यलाई अघि बढाए ।
व्यस्त समयका वावजुद पनि विनोद प्राय: नेपाली कार्यक्रममा साहित्य श्रृजना बोकेर पुग्ने गर्छन् । उनै गीतकार तथा साहित्यकार विनोद रोक्का नेपाल आएको बेला ठुलोपर्दा डटकमका जिवन पराजुलीले उनिसँग केहि जिज्ञासा राखेका थिए । प्रस्तुत छ, विनोद रोक्कासँगको कुराकानीको सम्पादित अंश:
१. नेपाली संगीतको बजार नेपाल र अमेरिकामा के फरक पाउनुभयो ?
फरक भन्ने त्यस्तो केहि छैन् । अमेरिकामा पनि हामी नेपाली नै छौँ । अमेरिकाबाटै संगीतमा लगानी पनि भईरहेका छन् । तर, बजार अमेरिकामा पनि कमजोर नै छ । यहाँ पनि किनेर सुन्ने चलन छैन अमेरिकामा पनि छैन । श्रृजनाको हिसाबले भने विदेशमा देश छोडेको पिडा बढि झल्किन्छ ।
२. संगीतबाट नै बाँच्न सकिन्छ भन्ने नलागेर अर्को पेशा अँगाल्नुभा’को हो ?
संगीतबाट बाँच्न सकिन्छ भन्ने लागेको थिएन । नबाँचेपछि आफ्नो श्रृजना कसैलाई सुनाए पाए हुन्थ्यो भन्ने हुन्थ्यो । त्यसले नै सन्तुष्टी दिन्थ्यो ।
३. अबको पुस्ताले संगीतलाई पेशा बनाउने की शोखको रुपमा मात्र लिने ? सुझाव के दिनुहुन्छ ?
पेशाको रुपमा नै लिनुपर्छ । संगीत पेशाको रुपमा नचलेको हुनाले विकृति पनि आएको छ । जसले पनि गीत लेख्ने, गाउने, संगीत दिने चलन बढ्यो । यो भएपछि व्यस्त जीवनमा रहेका श्रोताले कुन राम्रो कुन नराम्रो छुट्टाउन समेत गाह्रो भईसकेको छ । राम्रो गीत आईदियोस भन्ने चाहना सबैको हुन्छ । पहिले-पहिलेका गीत सुन्ने बित्तिकै त्यहाँ नराम्रो भन्ने नै छैन । थोरै तर राम्रा गायकहरु थिए । यसको मतलब अहिलेको पुस्ताको क्षमता कम छ भन्ने होइन तर अधिकांश गीतमा छाडापन जस्ता कुराको विकृति छ । क्षणिक मनोरञ्जन मात्र छ ।
४. अरुले लेखेका गीत र आफुले लेखेका गीतमा के फरक भेट्नुहुन्छ ?
फरक भन्ने कुरा होइन । राम्रो लेखेको राम्रै लाग्छ । राम्रो छैन भने चलेको गीतकारले लेखेको पनि मान्य हुँदैन । पुराना गीतहरु टिकाउ थिए, अहिले मैले नै लेखेका गीत पनि टिकाउ भएको जस्तो लाग्दैन ।
५. नेपाल बाहिर नेपाली गीतको अवस्था के छ ?
झन बढि विकृति छ तर, श्रोत भनेको नेपाल नै हो । हामी जुन देशमा भएपछि राजनीति नेपाली नै गर्छौँ । त्यस्तै गीत-संगीत पनि नेपालमा विकृत भयो भने बाहिर पनि पक्कै हुन्छ ।
६. चलेका धेरै नेपाली कलाकारहरु अमेरिका पलयान छन् । यसको कारण के देख्नुहुन्छ ?
हामीले स्वदेशमा ती कलाकारहरुको कदर गर्न सकेनौँ । कर्ण दास, यम बराल, हरिश माथेमा, प्रेमराजा महत लगाएत धेरै गायकहरु अमेरिका भाषिए । उनिहरुले धेरै नेपाली गीत गाए, चले पनि । उनिहरु गीतमा मात्र चले तर पेटमा केहि चलेन । जीवन धान्नै गाह्रो भयो । परिवार चलेन । यसकारण अमेरिकाको अवसर पाए, बसे ।
७. अब नेपाली संगीतको भबिष्य के देख्नुहुन्छ ?
यहि तरिकाले जाने हो भने भबिष्य छैन । गीत-संगीत आउँछ, चल्दैन । चलेको पनि पैसा आउने गरी चल्दैन । लगानी गर्नेको पैसा उठ्दैन, रहर गर्नेको रहर पनि महंगो भयो । एक गीतको पछाडी धेरै हुन्छन् । उनिहरु सँधै सेवक मात्र हुन्छन् । अर्को कुरा हामीले आफ्नोपन पनि दिन सकेका छैनौँ ।
८. तपाईँले लेख्ने गीत कस्तो भावका हुन्छन् ?
सबै प्रकारका लेखेको छु । कहिले राष्ट्रको कुरा, कहिले मायाप्रेम, कहिले समाज ।
९. अन्त्यमा, सम्पूर्ण संगीतप्रेमीलाई तपाईँको सुझाव र सल्लाह के छ ?
सैद्दान्तिक रुपमा संगीतको अध्ययन नगरेतापनि राम्रा संगीत दिन सकिन्छ, त्यसको प्रयास गरौँ । मैले पनि राम्रा गीत लेख्ने प्रयास गर्छु, तपाईँ पनि गर्नुहोस् । किनेर सुन्ने, हेर्ने प्रवृत्तीको विकास गरौँ । हामीले नगरे अरु कसैले गर्दैन, मौलिकतामा ध्यान दिन जरुरी छ ।